भक्तपुर् जिल्लाको मध्यपुर थिमी नगरपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षबीच कुर्ची हानाहान भएको छ । शुक्रवार नगरपालिकाको बजेट विनियोजन सम्बन्धमा भएको छलफलमा कुरा नमिलेपछि नगर कार्यसमितिको बैठकमा कुटाकुट भएको हो ।
अपराह्न २ बजे मेयर मदनसुन्दर श्रेष्ठले बोलाएको बैठकमा ९ वटा एजेण्डा राखिएको थियो । एजेण्डामा बुँदागत छलफल भयो । पहिलो बुँदामा रहेको चालू आर्थिक वर्षका योजना कार्यान्वयन सम्बन्धमा कुराकानी भयो ।त्यसपछि छलफल दोस्रो बुँदामा प्रवेश गर्यो । कार्यसमितिका सदस्य सुरज खड्काले एजेन्डाको दोस्रो बुँदामा कुरा नमिलेपछि उपमेयर अन्जनादेवी मधिकर्मीले हातपातको प्रयास गरेको बताए ।
वडाको विकास बजेट ५० लाख जति घटाएर कोरोना तिर राखौं भन्ने हाम्रो कुरा थियो, हामीले त्यो कुरा राखेपछि मेयर लगायत नेकपाका वडाअध्यक्षहरूले राम्रो कुरा भनेर भन्नुभयो,’ खड्काले भने, ‘जनतालाई ध्यानमा राखेर छलफल गरौँ भन्ने भयो । २ करोड ५१ लाखबाट घटाएर २ करोड यता राखौं भनेको हाम्रै साथीहरूलाई मन परेन ।
उनले कांग्रेसबाट निर्वाचित उपमेयर मधिकर्मीसँगै २ र ३ का वडाअध्यक्ष राम थापामगर र प्रेमबहादुर कुटू, नगर कार्यपालिका सदस्यहरु सुजाता बाडे, विनु केसी, अरुणा कारञ्जित, चन्द्रावती मिजार लगायतले विकास खर्च कटौती गर्ने प्रस्ताव मन नपराएको बताए ।
त्यसपछि उपमेयरले मेयरलाई लक्षित गरेर मुक्का हानिन् । उनले हानेको मुक्का मेयरलाई लागेन । तर त्यही मौकामा कांग्रेसबाटै निर्वाचित कार्यसमितिका सदस्यहरूले एकले अर्कालाई कुर्ची हानाहान शुरू गरे ।
कांग्रेसबाट निर्वाचित उपमेयर मधिकर्मीले कांग्रेसकै सदस्यहरूले मेयरलाई साथ दिएपछि यस्तो भएको बताइन् । उनले भनिन्, ‘मैले मुक्का हानेकै हो । तर त्यो मेयरलाई लागेन । त्यसपछि उता कुर्ची हानाहान शुरू भयो ।’
उनले मेयर श्रेष्ठले आफूलाई बारम्बार हेप्ने गरेको आरोप लगाइन् । ‘मलाई महिला भनेर हेप्ने ? उपमेयर भनेर हेप्ने ? कति सहनु मैले,’ उपमेयर मधिकर्मीले आक्रोश पोखिन्, ‘आजसम्म सहेर बसेको हो । आज अत्ति भएर मैले मुक्का हानेकी हुँ ।’
उनले आफू वकिल पनि भएको बताइन् । ‘यस्तो भएन भनेर कुरा राख्दा राख्दा मेयरले बैठक समाप्त भएको घोषणा गरे,’ उनले भनिन्, त्यसपछि मलाई रिस उठ्यो । मैले मुक्का हानेपछि अरू पनि धक्कामुक्की गर्नतिर लागे ।’
कुटाकुटपछि मेयर आफ्नो गाडी छोडेर हिँडे भने उनको गाडीको चाबी उपमेयर मधिकर्मीले आफूसँगै राखेकी छन् ।
मध्यपुर थिमीका कांग्रेस नगर सभापति सुरेन्द्र श्रेष्ठले कांग्रेसका नामबाट गरिएका धक्कामुक्कीको जिम्मेवारी पार्टी नहुने बताइसकेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन् पार्टीको आधिकारिक निर्णय र निर्देशन वेगर भएका यस्ता सबै खाले गतिविधीमा पार्टीको सरोकार नहुने र त्यस्ता गलत गतिविधीबाट उत्पन्न हुने समस्यामा पार्टीले जिम्वेवारी पनि लिने छैन । तसर्थ पार्टीका आम साथीहरुलाई कुनै व्यक्ती विशेषका पछाडी नलागी पार्टीको मूल्य¸मान्यता¸विधान र पद्धति अनुसार सँस्थागत रुपले सङ्गठित¸व्यवस्थित र परिचालित हुन हार्दिक अनुरोध गरिन्छ