काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई समाजवादी पार्टीले आन्तरिक स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
सोमबार निर्वाचनमा आयोगमा दर्ता भएको उक्त पार्टीका शीर्ष नेताहरुले गिरीले दिएको अभिव्यक्ति मगाएर सुनेपछि आन्तरिक स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । ‘हामीले सांसद गिरीले दिएको अभिव्यक्ति सुन्यौं, त्यो आपत्तिजनक छ,’ बैठकमा सहभागी पूर्व राष्ट्रिय जनता पार्टीका एक नेताले भने, ‘पार्टीले स्पष्टीकरण सोध्छ र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउँछ ।
सांसद गिरीले लिम्पियाधुरा आफूले नेपालको नक्सामा कहिल्यैपनि नदेखेको प्रतिक्रिया दिएकी थिइन् । कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउँदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने उनले बताएकी हुन् ।
प्राइम टाईम्स टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वमन्त्री समेत रहेकी सांसद गिरीले भारत र नेपालमा दुवै सरकारले भनेअनुसार ९८ प्रतिशत समस्या समाधान भैसकेको दावी गरेकी हुन् ।