वर्षभरि नै खेलाडी व्यस्त हुने खेल टेनिस हो । टेनिसका खेलाडी बाह्रै महिना फिट हुनुपर्छ । सामान्य फिटनेस लेभल कम हुँदा पनि खेलाडीले प्रतियोगितामा शहप्रतिशत खेल देखाउन सक्दैनन् । यस खेलका खेलाडीले आफूलाई पूरै सिजन फिट राख्न धेरै मिहिनेत गर्नुपर्ने बताउँदै आएका छन् । कोरोना भाइरसका कारण अहिले प्रत्येक साता कुनै न कुनै इभेन्ट हुने टेनिस खेलमा सन्नाटा छाएको छ ।
गत मार्च महिनापछि टेनिसका सब खेल स्थगित भएका छन् । विश्व टेनिस महासंघले अगस्ट महिनादेखि खेल सञ्चालन गर्ने तयारी गरेको छ । महासंघले बन्द रंगशालाभित्र प्रतियोगिता गर्ने तयारी गरेको हो । पछिल्लो समय टेनिसमा दर्शकको उपस्थिति बाक्लो छ ।
सन् २०१९ को युएस ओपमा सात लाख ५० हजार दर्शकले रंगशालामै प्रतियोगिता हेरेका थिए । यसैगरी गत वर्ष नै फ्रेन्च ओपनमा पाँच लाख २० हजार दर्शकको उपस्थिति भएको थियो । अहिले कोभिड– १९ का कारण ती दर्शक रंगशालामा पुगेर खेल हेर्न पाएका छैनन् । यस खेलका समर्थक तथा खेलाडी ग्रान्डस्लाम प्रतियोगिता मुख्य मान्छन् । कोभिड– १९ ले उनीहरूलाई यो खेलको रोमाञ्चकताबाट वञ्चित गराएको छ ।
फ्रेन्च तथा विम्बल्डन ओपन बन्द रंगशालाभित्र गर्ने योजना भइरहँदा २० पटकका ग्रान्डस्लाम विजेता रोजर फेडेररले यस किसिमको रणनीतिका साथ प्रतियोगिता सञ्चालन गर्न नहुने धारणा राखेका छन् । ‘दर्शकरहित रंगशालामा खेल्नुकाे केही अर्थ हुँदैन, म विश्वास गर्छु, हामी दर्शकमाझ नै ग्रान्डस्लाममा सहभागी हुन्छाैँ,’ ब्राजिलियन मिडियासँग कुराकानी गर्दै फेडेररले भने, ‘दर्शकबीच खेल्नुको मजा नै फरक हुन्छ ।’
दुईपटककी विम्बल्डन विजेता पेट्रा क्भिटोभाले विनादर्शक कोर्टमा उत्रन आफूलाई मन नलागेको प्रतिक्रिया दिइन् । पेट्रा भन्छिन्, ‘म अर्को ग्रान्डस्लाम जित्न चाहुन्छ, तर मलाई दर्शकको साथ चाहिन्छ ।’ दर्शकविना प्रतिस्पर्धा गर्नुपरे आफूले प्रतियोगिताबाट नाम झिक्ने उनले बताइन् । ‘पूर्वयोजनाअनुरूप दर्शकरहित रंगशालामा प्रतिस्पर्धा गर्नुपरे म त्यो प्रतियोगिताबाट नाम फिर्ता लिनेछु,’ पेट्राले भनिन्, ‘दर्शक भनेको हामीहरूको इन्जिन हो, विनाइन्जिन केही सम्भव हुँदैन ।’
यता रोनाल्ड गोरोस (फ्रेन्च) ओपनको आयोजकले सेप्टेम्बर र अक्टोबरमा प्रतियोगिता आयोजना गर्ने बताएको छ । फ्रेन्च ओपनका निर्देशक जिएन फ्रासिस्कोले एफएफटी र एटिपीलाई दर्शकरहित प्रतियोगिता आयोजना गर्न सकिने जानकारी दिएका छन् ।