स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ । किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो ।
कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बादर भाग्ने जनाइएको छ । बाँदरले आतङ्क मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
वालिङसहित देशव्यापीरूपमा किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साझा समस्या हो उनले भने यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराइएको छ । सो प्रविधि सरल र सस्तो रहेको जनाइएको छ ।
पहिलो चरणमा गाउँगाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडावडामार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गछौं उनले भने प्रत्येक वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाकाबारेमा आवश्यक प्रशिक्षण दिएर पठाएका छौँ ।