पाटनसँग मेरो नजिकको दोस्ती छ। संस्कृति र सम्पदाको रिर्पोटिङ मैले यहीँका मन्दिर र पोखरीबाट सुरू गरेकी थिएँ। दुई वर्षको अन्तरालमा यहाँका केही गल्ली र केही मान्छेसँग मेरो दोहोरो सम्बन्ध गाँसिएको छ।
लकडाउनमा मैले सबभन्दा बढी ‘मिस’ गरेको यहाँका गल्लीहरू हुन्। ती मान्छेसँगको भेटघाट हो। र, हप्तादिनमा पुग्ने रैथाने खाजाघरहरू हुन्। लकडाउनको ५० औं दिनमा मैले घरबाट निस्केर सहर चहार्ने मौका पाएको थिएँ। पिँजडाबाट मुक्त पन्छीझैं म पाटनका तिनै गल्लीहरूमा पुगेँ। दरबार स्क्वायरमा पहिलेजस्तो रौनक थिएन। मान्छेका स्पर्श र चहलपहल ती सम्पदाहरूले पनि ‘मिस’ गर्दा हुन्!
सुनसान दरबार स्क्वायर छिचोल्दै स्वठः पुग्दा ‘मास्टर बाजे’ सँग भेट भयो। मास्टर बाजे, अर्थात् रामप्रसाद अमात्य पाटनका मठ-मन्दिरबारे कथा सुनाउँछन्। रिपोर्टिङकै क्रममा मेरो उनीसँग चिनजान भएको थियो।
कान कम सुन्ने मास्टर बाजेले यसबीच ‘हेयरिङ-एड’ लगाउन थालेछन्। पहिले उनीसँग कथा सुन्दा एउटै प्रश्न बारम्बार सोध्नुपर्थ्यो। एउटा मन्दिरको कथा जान्न थप तीन-चार वटा मन्दिरको नालीबेली सुन्नुपर्थ्यो। अहिले उनीसँग दोहोरो संवाद सजिलो भएछ। अब उनी प्रश्नकर्ताको प्रश्न राम्ररी नसुनेर एकोहोरो कथा सुनाउँदैनन् होला!
आजकल त बाजेले पनि कथा सुन्नेहरू ‘मिस’ गर्दा हुन्! बाजेलाई भेटेपछि म गोल्डेन टेम्पल, नागबही लगायत ठाउँ डुल्दै पाटनको कुमारी बहाः (रत्नाकर महाविहार) पुगेँ।
पहिले म हप्तादिनमा एकचोटि त्यहाँ पुगिरहेकी हुन्थेँ। कुमारी र कुमारीका परिवारसँग चिनजान पनि रिपोर्टिङले नै गराएको थियो। बढीजसो म बहालका गुठीयार र बाजेहरूसँग गफ चुट्छु। हिँड्दाहिँड्दै थाक्दा त्यतै कतै आराम गर्छु। कहिलेकाहीँ कुमारीले झ्यालबाट बोलाउँथिन्, म माथि उक्लिन्थेँ।
यसपालि बहाः सुनसान थियो। कुमारी घर बन्द। माथि पूजा भइरहेको रहेछ। तल एक जना मात्र चिनेका गुठीयार भेटिए। मलाई देखेपछि उनले सोधे, ‘तपाईं किन आउनुभएको?’
मलाई यो प्रश्नले झस्कायो। पहिले लामो समयको अन्तरालमा बहाः पुग्दा बाजेहरू सोध्थे, ‘धेरै दिनपछि आउनुभयो त।’
मैले कुनै जवाफ दिन सकिनँ। सोधेँ, ‘यहाँ केको पूजा भइरहेको?’
लकडाउनका कारण गुठीपूजा सरेको रहेछ। ‘लकडाउन खुल्ने निश्चित छैन, पूजा त गर्नै पर्यो,’ उनले भने।
‘रातो मच्छिन्द्रनाथको जात्रा पनि त तपाईंहरूले गर्नैपर्छ रे होइन?’
मेरो यो प्रश्नमा उनी चिन्तित सुनिए। रातो मच्छिन्द्रनाथको जात्रालाई वर्षकै लामो रथयात्रा मानिन्छ। करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको यो जात्रामा रथयात्रा गराइने मच्छिन्द्रनाथलाई भारतको आसामदेखि ल्याइएको किम्बदन्ती छ।
गत वर्ष रातो मच्छिन्द्रनाथको जात्रा। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटी किम्बदन्तीअनुसार गुरू गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोंकमा सम्पूर्ण नागलाई वशमा लिएछन्। नागलाई वशमा लिएपछि देशमा वर्षा भएन। अनिकाल लाग्यो। त्यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, तान्त्रिक बन्दोदत्त आचार्य र ललितपुरका ज्यापु ललितले आसाम गएर गोरखनाथका गुरू मच्छिन्द्रनाथलाई ल्याएछन्।
नागमाथि बसेका गोरखनाथ आफ्ना गुरूलाई अगाडि देखेपछि दर्शन गर्न जुरुक्क उठेछन्। यही मौकामा नागहरू गोरखनाथको वशबाट मुक्त भए। त्यसपछि काठमाडौंमा वर्षा सुरू भयो र अनिकाल हरायो भन्ने भनाइ छ।
मच्छिन्द्रनाथको रथ ३२ हात (४८ फिट) अग्लो हुन्छ। यसमा ३२ वटा भगवान रहेका विश्वास गरिन्छ। रथ निर्माणमा संलग्न सूर्यमान डंगोलका अनुसार मच्छिन्द्रनाथलाई यहाँ ल्याउँदा ललितपुरमा वर्षभरि ३२ देवदेवीको जात्रा हुन्थ्यो।